अनलाइन श्रमस्वीकृति : राहतभन्दा आहत

81
Loading...

काठमाडौँ, फागुन ५ गते ।  सरकारले वैदेशिक रोजगारीमा जानेका लागि राहत पु¥याउने उद्देश्यले सञ्चालन गरेको अनलाइनबाट श्रमस्वीकृति दिने कार्यले सेवाग्राहीलाई राहतभन्दा बढी सास्ती भएको छ ।  सरकारले अनलाइन श्रमस्वीकृतिका लागि पूर्ण रूपमा तयारी नगरी उक्त सेवा सञ्चालनमा ल्याएका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको हो ।
वैदेशिक रोजगारीमा जानेहरूलाई छिटो र सहज सेवा दिने भनेर शुरू गरिएको अनलाइन सेवा आफूहरूका लागि झन् झन्झटिलो, खर्चिलो र धेरै समय लाग्ने भएको गुनासो सेवाग्राही बताउँछन् ।
अनलाइनबाट श्रमस्वीकृति पाइने भएकाले छिट्टै हुन्छ भनेर विमान चढ्नुभन्दा पाँच घण्टाअघि मात्रै आउनुभएका चितवनका हिराबहादुर चौधरीको विमान नै छुट्यो ।  साउदी अरबमा दुई वर्षको बसाइपछि दुई महिना बिदामा स्वदेश आउनुभएका चौधरीले भन्नुभयो, ‘समाचारमा श्रमस्वीकृतिका लागि लाइन बस्नु नपर्ने र आधा÷एक घण्टामै श्रमस्वीकृति पाइन्छ भन्ने सुनेर आएँ तर कहाँ पाउनु समाचारमा भनेजस्तो गरी श्रमस्वीकृति, टिकट नै छुट्यो, अब कसरी जाने ?’
‘‘पकेट खर्च भनेर ल्याएको आठ दश हजार रुपियाँमध्ये छ हजार पाँच सय त फाराम भर्दा नै लाग्यो, टिकटको कति लाग्ने हो साथमा एक हजार रुपियाँबाहेक अरू पैसा छैन, अब के गर्ने ? उहाँले मलिन अनुहार बनाउँदै भन्नुभयो ।
यस्तै, धनुषा सानागाउँका मण्डल मकावारी त खर्च सकिएर भोकभोकै पर्ने अवस्थामा पुग्नुभएको छ ।  साउदी अरबमा पुनः जान लाग्नुभएका उहाँको आउँदो शुक्रबारको टिकट छ ।  पहिले दुई हजार सात सय रुपियाँमा श्रमस्वीकृतिको काम सिध्याएर विदेशिनु भएका उहाँले भन्नुभयो, ‘पहिलेकै जति पैसाले होला भन्ने अड्कल गरेर आएँ, अहिले त अनलाइन फारम भराउने भनेरै तीन हजार पाँच सय रुपियाँ लिए, बीमा र कल्याणकारी कोषमा गरेर अरु छ हजार पाँच सय रुपियाँ सकियो ।  साथमा पाँच सय मात्रै छ ।  त्यति पैसाले के खाने ? कहाँ बस्ने ? श्रमस्वीकृति पनि अहिले (मङ्गलबार) सम्म पाएको छैन । ’
पहिले त बरु दिनभरि लाइन बस्दा त श्रमस्वीकृति पाइन्थ्यो ।  अहिलेको अनलाइन सेवाले त झन् हामीलाई अन्योल बनाएको कुवेत जान पुनः श्रमस्वीकृति लिन वैदेशिक श्रम कार्यालय ताहचलमा भेटिनुभएका दोलखाका सोभितकुमार थापाले पनि गुनासो गर्नुभयो ।  डेढ वर्षको कुवेत बसाइपछि पुनः श्रमस्वीकृति लिएर सोही देश र कामका लागि जान लाग्नुभएका थापा दुई दिनदेखि लाइनमा हुनुहुन्छ ।  सर्भरले राम्रो काम गरेन भन्छन्, कहिले पाइने हो ठेगानै छैन, थापाले भन्नुभयो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले अहिलेको युगमा अनलाइनबाट श्रमस्वीकृति दिनुको विकल्प छैन, हामी यसको विरोधी पनि होइन तर सरकारले यस विषयमा पूर्ण रूपमा तयारी नगरी सस्तो लोकप्रियता कमाउन यो सेवा शुरू गर्दा सेवाग्राही झन् समस्यामा परेको बताउनुभयो ।
यता वैदेशिक रोजगार विभाग ताहाचलस्थित श्रम कार्यालयका प्रमुख वीरेन्द्र भारतीले भने अनलाइन श्रमस्वीकृति दिने कार्यमा हामी परीक्षणकालमै भएकाले पनि काम गर्ने क्रममा केही ढिला भएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘त्यसो भन्दैमा काम नै नभएको होइन, अहिले दैनिक औसतमा नौ सयलाई अनलाइन प्रणालीबाट श्रमस्वीकृति दिएका छौँ ।  अनलाइन नहुँदा दैनिक एक हजार पाँच सयलाई श्रमस्वीकृति दिने गथ्र्यौँ ।  सर्भरका कारण यस्ता गुनासा आएका हुन्, विस्तारै सुधार गर्ने प्रयास गर्छौँ । ’
हामीले सेवा भने अत्याधुनिक दिने भनेका छौँ तर अधिकांश पुरानै कम्प्युटर र सीमित दक्ष जनशक्तिले कसरी काम सकिन्छ भनेर प्रतिप्रश्न गर्दै भारतीले भन्नुभयो, ‘मन्त्रालयले त्यही अनुसारको स्रोतसाधन र दक्ष जनशक्ति उपलब्ध गराउनुप¥यो, हामी सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिन तयार छौँ । ’
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले अनलाइन सेवा नयाँ भएकाले काम गर्ने क्रममा केही नयाँ चुनौती थपिएको र यसलाई बिस्तारै सम्बोधन गर्दै जानेगरी काम भइरहेको जानकारी गराउनुभयो ।

LEAVE A REPLY