कसरी हराए टेलिकमका २० हजार रिचार्ज कार्ड ?

216
Loading...
शनिवार नेपाल टेलिकमले २० हजार थान रिचार्ज कार्ड हराएको सार्वजनिक सूचना जारी ग–यो । एक सय दरका २० हजार रिचार्ज कार्ड हराएको भन्दै टेलिकमले हराएका नम्बरका रिचार्ज कार्ड प्रयोग नगर्न आफ्ना प्रयोगकर्तालाई आग्रह गर्‍यो ।

टेलिकमले सिरियल नम्बर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको दुई हजार थान रिचार्ज कार्ड आयात गर्ने क्रममा हराएको उक्त सूचनामा उल्लेख गरिएको थियो । ती सिरियल नम्बरका कार्ड बिक्री तथा खरिद नगर्नसमेत टेलिकमले सार्वजनिक अपिल गर्‍यो । टेलिकमले ती रिचार्ज कार्डको ‘भ्यालिडिटी’ नै बन्द गर्‍यो ।

आखिर कसरी हरायो रिचार्ज कार्ड ?

टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले ती रिचार्ज कार्ड भारतबाट आयात गर्ने क्रममा वीरगञ्ज नाकाबाट हराएको बताइन् ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीका अनुसार रिचार्ज कार्ड आपूर्ति गर्दै आएको एक भारतीय कम्पनीले ती रिचार्ज कार्ड आयात गर्ने क्रममा बाटोबाट बाकस नै हराएको हो ।

हाल टेलिकमको रिचार्ज कार्ड विभिन्न चारवटा कम्पनीले आपूर्ति गर्दै आएको अधिकारीले बताए । जसमध्ये भारत र चीनको एक एक वटा र नेपालको दुईवटा छन् । टेण्डरमार्फत प्रतिस्पर्धाका आधारमा ती कम्पनी छनोट गरिएका हुन् । नेपालकै, भारतीय र चिनियाँ कम्पनीले ती रिचार्ज कार्ड आपूर्ति गर्छन् ।

टेलिकमका अनुसार रिचार्ज कार्ड हराएको यो पहिलोपटक भने होइन । ‘यसअघि पनि केहीपटक यसरी नै आयात गर्ने क्रममा कार्ड हराएका थिए,’ सहप्रवक्ता अधिकारीले भने ।

हराएका रिचार्ज कार्डको ‘भ्यालिडिटी’ बन्द गरेकाले त्यसबाट टेलिकमलाई कुनै हानि नभएको टेलिकम बताउँछ । आपूर्ति कम्पनीको असावधानीका कारण रिचार्ज कार्ड हराएको टेलिकमको ठहर छ ।

छानविन गर्दै टेलिकम

रिचार्ज कार्ड हराएकोबारे टेलिकमले छानविन गर्ने भएको छ । ‘यसरी आयात गर्दा बीचैमा रिचार्ज हराउनु राम्रो हैन,’ महाप्रवन्धक राजभण्डारीले भनिन् । यसका सम्बन्धमा छानविन भइरहेको उनले बताईन । ‘छानविनपछि यसको सत्यतथ्य बाहिर ल्याउँछौं,’ उनले थपिन ।

LEAVE A REPLY