‘कोरियाली परमाणु खतरासँग एक्लै जुध्छौँ’

454
Loading...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको मद्दतसहित वा चीनको मद्दत बिनै संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाबाट रहेका परमाणु जोखिम समाधान गर्ने बताएका छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसै हप्ता पहिलोपटक भेटवार्ता गर्न लाग्दा ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।

राष्ट्रपति ट्रम्पका सुरक्षा सल्लाहकारहरुले सो भेटघाटका लागि नीतिगत सुझाव दिने तयारी गरिरहेका छन्।

यसअघि आफ्नो पहिलो एसिया भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियालाई पराजित गर्ने दुई दशकयताको पश्चिमा कूटनीति विफल भएको बताएका थिए।

समाधान

ब्रिटेनको फाइनान्सियल टाइम्स नामक अखबारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भनेका छन्, “यदि चीनले उत्तर कोरियाको समस्या समाधान गर्दैन भने हामी गर्छौँ। यो म स्पष्टसँग भन्न चाहन्छु।”

त्यसपछि के उनी एक्लैले त्यस्तो गर्न सक्लान् भनेर सोधिएको थियो जसको उत्तर दिँदै उनले एकदमै सक्छु भनेका थिए।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि चीनको बढी प्रभाव रहेको बताउँदै चीनले अमेरिकालाई सहयोग गर्ने या नगर्ने भन्ने निर्णय लिनुपर्ने उल्लेख गरे।

चीनले मद्दत गरे त्यो उसका लागि पनि राम्रो हुने बताएका ट्रम्पले त्यसो नगरे कसैलाई राम्रो नहुने जवाफ दिए।

उत्तर कोरियाको परमाणु विकासविरुद्ध श्रृंखलाबद्ध चेतावनी दिइरहेको अमेरिकाका राष्ट्रपतिले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटवार्ता गर्दैछन्।

प्योङयाङले अमेरिकी मुख्य भूमिसम्मै मार हान्न सक्ने क्षमताको लामो दूरीको परमाणु क्षेप्यास्त्र विकास गर्न अन्ततः सफलता पाउन सक्ने चिन्ताहरु व्यक्त भइरहेका छन्।

कारबाही

मार्च महिनामा एसियाली मुलुकहरुको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको गतिविधिलाई रोक्न सैनिक कारबाहीसम्म गर्न सकिने विकल्प रहेको बताएका थिए।

त्यसको एक महिनाअघि अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले कुनै पनि परमाणु हतियारको प्रयोगविरुद्ध त्यस्तै खरो प्रतिक्रिया दिने चेतावनी दिएका थिए।

उत्तर कोरियाको एकमात्र अन्तर्राष्ट्रिय साझेदार रहेको चीनले उसको पछिल्लो क्षेप्यास्त्र परीक्षणविरुद्ध भने केही प्रतिबन्धात्मक कारबाही गरेको छ।

गएको फेब्रुअरीमा चीनले उत्तर कोरियाको मुख्य आय श्रोत रहेको कोइला सन् २०१७ को अन्त्यसम्म नकिन्ने निर्णय गरेको थियो।

तर राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपतिलाई उत्तर कोरियामाथि थप कदमहरु चाल्न दबाब दिने ठानिएको छ।

Loading...

LEAVE A REPLY