खाडी मुलुकमा सरकारले घुम्ती शिविर चलाउँदै, पासपोर्ट नभएकालाई हातहातै दिने

255
Loading...

चैत २८, काठमाडौँ । वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेर समस्या परेका नेपालीहरुलाई खुसीको खबर । सरकारले वैदेशिक रोजगारीका गन्तव्य मुलक खाडी देशहरुमा रहेका नागरिक सहायताका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । वैशाखको दोस्रो साताबाट मलेसिया, साउदी अरेबिया, कतार, यूएई, कुवेत, बहराइन र ओमानलगायतका देशमा घुम्ती शिविर चलाउन लागिएको हो ।

वैदेशिक रोजगारीमा गएर विभिन्न किसिमका समस्यामा परेको नेपालीको हितका लागि सरकारले पहिलोपटक सम्बन्धित देशमै पुगेर विशेष शिविर आयोजना गर्न लागेको हो ।

वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार म्यादी जीवन बीमा गर्ने कम्पनीहरु, राहदानी विभाग, कन्सुलर सेवा विभाग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीहरु सहितको टोलीले शिविर सञ्चालन गर्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको योजनामा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने प्रयत्न स्वरुप घुुम्ती शिविर सञ्चालन गर्न लागिएको प्रधानमन्त्रीका वैदेशिक रोजगार विज्ञ सुशील ढुङ्गानाले जानकारी दिए । हालै साउदी अरब सरकारले अवैधानिक रुपमा बसेका आप्रवासी कामदारहरुलाई स्वदेश फर्कनका लागि वा वैधानिकता प्राप्त गर्नका लागि ९० दिनको समय दिएको छ । उक्त अवसरलाई समेत उपयोग गर्ने नीतिसहित सरकारले खाडी राष्ट्रमा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरुलाई सहयोग गर्न लागेको हो । आफ्ना नागरिकहरुलाई नेपाल सरकारको तर्फबाट वैदेशिक रोजगारको सिलसिलामा रहँदा आवश्यक पर्ने सेवाहरु समाबेस गरी घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रधानमन्त्रीका वैदेशिक रोजगारी विज्ञ ढुङ्गानाले बताए ।

 

घुम्ती शिविरमा श्रम स्वीकृति नवीकरण र पासपोर्ट सुविधा

सरकारले सुरु गर्न लागेको घुम्ती सेवामा श्रम स्वीकृतिसम्बन्धी सेवाहरु, कल्याणकारी कोषको नवीकरण, वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी सेवाहरु प्रदान गरिने छ । कम्पनीले पासपोर्ट खोसेका, हराएका, म्याद गुजारेकाहरुले शिविरबाट प्रत्यक्ष रुपमा सेवा पाउनेछन् ।

सरकारले सुरु गर्न लागेको घुम्ती शिविरबाट करिब १० देखि १५ लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने सरकारको अनुमान छ ।

प्रधानमन्त्रीका वैदेशिक रोजगारविज्ञ सुशील ढुङ्गानाले भने– “वैदेशिक रोजगारीमा सबैभन्दा धेरै, सबैभन्दा गम्भीर र महत्वपूर्ण समस्या रुपमा श्रमस्वीकृतिको जटिलता रहेको छ । यही जटिलताका कारण बर्सेनि विदेशमा मृत्यु हुने नागरिकहरुमध्ये कम्तीमा एक तिहाइले बिमा र कल्याणकारी कोषबाट राहत पाउन सकेका छैनन् । यसैलाई मध्यनजर गर्दै गन्तव्य देशमै पुरानो श्रम स्विकृति नवीकरण गर्ने व्यवस्था मिलाइने कार्यक्रम बनाएका छौँ ।”

नयाँ श्रम स्वीकृति समेत दिइने

घुम्ती शिवरका सञ्चलनका क्रममा पुरानो श्रम स्वीकृति नवीकरण गरिनुका साथै नयाँ श्रम स्वीकृतिसमेत प्रदान गरिने योजना रहेको छ । नयाँ श्रम स्वीकृतिबाट करिब २ लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको ढुङ्गानाले जानकारी दिए ।

नेपालबाट अवैध बाटो र माध्यमबाट खाडी मुलुकमा पुगेका तर त्यहाँको कानुनलाई सम्मान गरी काम गरिरहेका नेपालको कानुनको भाषामा अवैध करार गरिएका नागरिकहरुलाई समेत सरकारले शिविरमै एक पटकका लागि नयाँ श्रम स्विकृति दिने योजना बनाएको छ । यसबाट ठूलो सङ्ख्यामा महिलाहरु लाभान्वित हुने सरकारको अपेक्षा छ ।

घुम्ती शिविरकै क्रममा श्रम स्विकृति लिनुपूर्व जम्मा गर्नुपर्ने कल्याणकारी कोषको रकम शिविरस्थलमै सङ्कलन गर्ने योजना रहेको छ । यसबाट नयाँ तथा पुरानो श्रम स्वीकृत लिन चाहने नागरिकहरु लाभान्वित हुने भएका छन् ।

बिमाको अवधि सकिएका सबै नागरिकको बिमा गरिने

घुम्ती शिविरमा आउने वैदेशिक रोजगारीमा गएका नागरिकले वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी सेवा पाउने भएका छन् । यो सेवाबाट करिब १५ लाख नागरिक लाभान्वित हुने अनुमान गरिएको छ । सरकारले वैदेशिक रोजगारमा रहेका तर बिमाको अवधि सकिएका सबै नागरिकहरुको बिमा गर्ने भएको हो ।

बिमा नवीकरण मात्र नभई अवैध बाटो र माध्यमबाट गन्तव्य देशमा पुगेर काम गरिरहेका नागरिकलाई नयाँ जीवन बिमा गरी आर्थिक सुरक्षा प्रदान गरिने योजना । यसबाट करिब २ लाख नागरिक लाभान्वित हुने वैदेशिक रोजगार विज्ञ सुशील ढुङ्गानाको भनाइ छ ।

पासपोर्ट खोसिएको वा हराएको छ ? शिविरमा जानुहोस्

वैदेशिक रोजगारीमा क्रममा खाडी मुलकमा काम गरिरहेका नागरिकहरुको पासर्पोट कम्पनीले जफत गरेको छ वा हराएको छ वा म्याद गुज्रेको छ भने पनि सरकारले सोही शिविरबाटै जारी गरिदिने छ । यो अभियानबाट कम्पनीले पासपोर्ट खोसिदिएका र कम्पनी छोडेर भागेका करिब १ लाख नागरिकले प्रत्यक्ष लाभ हासिल गर्ने आसा लिइएको छ । पासपोर्ट हराएका, हस्त लिखित पासपोट भएका, पासपोर्टको म्याद सकिएकाहरुले समेत घुुम्ती शिविरबाट सेवा लिन पाउने भएका हुन् ।

यस्तै पासपोर्ट नभएका र देश फर्कन चाहनेहरुलाई शिविरबाटै यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था समेत मिलाइने भएको छ ।

गम्भीर प्रकृतिका बिरामी र घाइतेको उद्धार

घुम्ती शिविर सञ्चालनका क्रममा वैदेशिक रोजगारीमा गएर अङ्गभग भएका, गम्भीर प्रकृतिका रोग लागेर समस्यामा परेका नेपालीको खोजी गर्नुका साथै उद्धार गरिने भएको छ । यसमा जेलमा परेका नेपालीको तथ्याङ्क लिनुका साथै उद्धारका लागि पहल गरिने भएको हो ।

यी देशमा हुनेछन् शिविर

सरकारले पहिलो चरणमा खाडीको सात देशमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । सबैभन्दा धेरै समस्या देखिएका साउदी अरब र मलेसियाका विभिन्न ठाउँमा एक साताभन्दा बढी शिविर चलाउने योजना छ ।

१) साउदी अरबको रियादमा ३ दिन, जेद्धामा ३ दिन, दमाममा ३ दिन तथा अन्य स्थान तय गरेर आवश्यक समयसम्म शिविर राखिने भएको हो ।

२) मलेसियाका ४ ठाउँमा तीन तीन दिन शिविर चलाउने योजना छ । क्वालालम्पुर, जोहरबारु, पेनाङ्ग र मलाकामा शिविर राख्ने योजना छ ।

३) यूएईको दुबई, आबुदावी र सारजाहमा एक एक दिन शिविर राखिँदैछ ।

४) यस्तै कतार, कुवेत, बहराइन र ओमनमा पनि एक एक दिन शिविर चलाउने योजना छ । शिविर वैशाखको दोस्रो साताबाट सुरु हुने भए पनि मिति तोक्नका लागि अन्तिम तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

शिविरका लागि स्वयंसेवक परिचालन र मिडियामा प्रचार

सरकारले ठूलो महत्वकाङ्क्षा सहित सुरु गरेको यो योजनालाई प्रभाकारी बनाउन ब्यापक रुपमा स्वयम्सेवक परिचालन गर्ने र नेपाल तथा सम्बन्धित देशका सञ्चार माध्यमबाट सूचना प्रचार प्रसार गर्ने तयारी छ । सम्बन्धित देशका गैर आवासिय नेपाली संघ, अन्य इच्छुुक प्रवासी समाज वा व्यक्तिलाई स्वयम्सेवक बनाएर सम्बन्धित देशमा रहेको दूुतावासले आवश्यक प्रशिक्षण दिई परिचालन गरिने भएको छ ।

नेपाल र खाडी देशका प्रभावकारी सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा एसएमएसबाट शिविर हुनेबारे प्रचार प्रसार गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा कोही समस्यामा परे प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारले गुनासो सुनेर घुम्ती शिविरमा जानकारी पुर्याउने व्यवस्थासमेत मिलाउन लागिएको छ ।

LEAVE A REPLY