घर बनाउँदै हुनुहुन्छ ? अब नक्सा पास गरेरमात्र ढुक्क हुन पाउनुहुन्न

250
Loading...

काठमाडौं : काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजत अनुरुप भवन निर्माण भए नभएको अनुगमन गर्ने भएको छ। बुधबार बसेको महानगरपालिकाको बोर्ड बैठकले भवन निर्माण अनुगमनका लागि सात सदस्यीय कार्यदलसमेत गठन गरेको छ। भवन निर्माण इजाजत विभागका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो, जसमा ५ जना इन्जिनियर र महानगरपालिकाको नगर प्रहरी महाशाखाका एक जना नगर प्रहरी निरीक्षक हुने जनाइएको छ। काठमाडौं उपत्यकाभित्र पछिल्लो समय भवन निर्माण इजाजत एकातिर भवन निर्माण अर्कोतिर हुँदै आएका गुनासा थिए। महानगरपालिका क्षेत्रका ८० प्रतिशत भवनहरु कुनै न कुनै रुपमा मापदण्ड र कानुनविपरीत रहेको बताइएको छ। भवन संहिता र मापदण्ड पालना नहुँदा तथा नक्सा पासविपरीत घर तथा भवन बन्दा सहरी क्षेत्रमा भद्रगोल अवस्था सिर्जना भएको छ। महानगरपालिकाले यही गलत परिपाटीको अन्त्य गर्नका लागि भवन निर्माणमा कडाइका साथ अनुगमन गर्न लागेको कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए। महानगरपालिकाको बोर्ड बैठकले बुधबार नै भवन निर्माण इजाजत सरलीकरण तथा सहजीकरण कार्यविधि २०७३ समेत पारित गरेको छ। भवन निर्माणका सम्बन्धमा सेवाग्राहीलाई सहज पार्नका लागि तथा विद्युतीय प्रणालीबाट भवन निर्माण इजाजत दिने व्यवस्था प्रभावनकारी बनाउन कार्यविधि ल्याइएको तामाङले बताए। नयाँ कार्यविधिअनुसार अब सेवाग्राहीले विद्युतीय प्रणालीबाट भवन निर्माणका लागि आवश्यक कागजात पेस गरेको तीन दिनभित्र महानगरपालिकाले फाइल सम्बन्धित वडामा पठाउनेछ। साथै आवश्यक रित नपुगेको भए पनि तीन दिनभित्रै थाहा पाउने गरी सेवाग्राहीलाई सूचना दिइने छ। यसअघि नक्सा पासका लागि सेवाग्राहीले लामो समय कुर्नुपर्ने र अनेक झन्झट व्यहोर्नुपर्ने थियो। तर सेवाग्राहीले सरल र सहज तरिकाले कुरा बुझुन् र सेवा पाउन् भन्ने हिसाबले कार्यविधि बनाइएको र यसबाट महानगरबासीले लाभ लिने तामाङले बताए।

Loading...

LEAVE A REPLY