चलचित्रका ‘हट’ नायिका

211
Loading...

चलचित्र ‘ड्रिम्स’ प्रदर्शन हुनुअघि साम्राज्ञी राज्यलक्ष्मी शाहको पहिचान फराकिलो थिएन । उनी जब पर्दामा उत्रिन् दर्शकको मनमा बस्न सफल भइन् । अहिले ‘मस्ट डिमान्डेड’ नायिकामध्येमा गनिने उनले सानै उमेरमा यति लोभलाग्दो ख्याति कमाउनुको खास माध्यम चलचित्र नै हो । एउटा जिज्ञासा, त्यति समय र मेहनत अन्य क्षेत्रमा लगाएको भए के उनी यतिका सफल र लोकप्रिय बन्न सम्भव थियो त ?

केही काम यस्ता हुन्छन् जसले नाम, दाम र स्वाभिमान एकैपटक दिन्छन् । त्यसमध्येको अभिनय कर्म एउटा हो तर यो सोचेजति सजिलो छैन । रंगीन पर्दामा रमाउन चाहनेहरूको कमी त छैन तर सबैको चाहना पूरा हुन पनि सक्दैन । अभिनय गरेरमात्रै हुँदैन । जसले यी तीन वस्तु एकसाथ प्राप्त गर्छ ऊ सेलिब्रेटीमा दरिन्छ ।

अहिले प्रदर्शन भइरहेको चलचित्र ‘लुट २’ बाट चर्चामा आएकी एलिसा राई विज्ञानकी विद्यार्थी हुन् । विज्ञान यसै पनि आकर्षक र चमत्कारी विषय मानिन्छ । तर जब उनी चलचित्र क्षेत्रमा आइन् उनलाई विज्ञान विषय फिक्का लाग्न थाल्यो । ‘अभिनयमा लागेपछि मलाई विज्ञान विषय केहीजस्तो लागेन’, एलिसा भन्छिन्, ‘वास्तवमा चलचित्र जति रंगीन छ त्यतिकै चमत्कारी पनि हुने रहेछ ।’ रोशन राई निर्देशित चलचित्र विनायोबाट अभिनय क्षेत्रमा लागेपछि उनको करियरमा चमत्कारिक परिवर्तन आएको छ । आमनेपालीजस्तै उनी पनि सामान्य परिवारकी मान्छे । यसअघि चलचित्र क्षेत्रमा न परिवारका कोही थिए न त अभिनयमा आफूलाई डो¥याउने अग्रज नै । तर युट्युबमा करोड दर्शकले हेर्ने हातका औंलामा गन्न पनि नपुग्ने अभिनेत्रीमध्येमा दरिन पुगिन् । चलचित्र ‘लुट २’ मा समेटिएको ‘ठमेल बजार’ गीतले उनलाई यस्तो पहिचान दिलायो ।

युवापुस्ता पहिचान र लोकप्रियताका विषयमा बढी नै लोभी हुन्छन् । छोटो समयमै आफूलाई अब्बल सावित गर्न खोज्छन् । कतिपय सफल पनि भएका छन् । पढेका, बुझेका, पारिवारिक पृष्ठभूमि नै चलचित्रको भएका कतिपय अभिनेत्री भने अभिनयलाई जीवन सम्झेर अगाडि बढिरहेका छन् । ‘अभिनयमा आउनुपूर्व पनि चलचित्र उद्योगका बारेमा म त्यति अनभिज्ञ थिइनँ’, नायिका केकी अधिकारी भन्छिन्, ‘अभिनयसँगै अध्ययनलाई पनि नबिराई अघि बढाएँ । अहिले म खुसी छु ।’

अन्य क्षेत्रबाट सामाजिक पहिचान बनाउनेहरू पनि कुनै न कुनै कालखण्डमा अभिनयप्रति आकर्षित हुने गरेका छन् । मिस नेपालको ताज चुमेपछि मलिना जोशीले चलचित्र क्षेत्रमा रुचि नभएको बताएकी थिइन् । आफ्नो भनाइमा उनी धेरै समय टिक्न सकिनन् । अहिले उनको प्राथमिकता अभिनयमै छ । चलचित्र ऋतुबाट सुरु भएको उनको अभिनय यात्रा विनर, झुम्की, लील, संरक्षण, रानी हुँदै बढिरहेको छ । मलिनामात्रै होइन त्यसअघि माल्भिका सुब्बाले पनि मिस नेपालको ताज चुमेपछि चलचित्र आफ्नो क्षेत्र नभएको स्पष्ट पारेकी थिइन् । उनी पनि ‘गड लिभ्स इन द हिमालय’, ‘गुडबाई काठमाडौं’जस्ता चलचित्रमा अभिनयसँगै चलचित्र ‘हाउ फन्नी’मार्फत कार्यकारी निर्माताका रूपमा समेत देखापरिन् । चलचित्रमा उनको धीत अझै मरेको छैन ।

आखिर के छ त चलचित्रमा जसले माल्भिका, मलिनामात्रै होइन अन्य क्षेत्रबाट आफ्नो सामाजिक छवि बनाइसकेका प्रतिभाशाली युवायुवतीलाई आकर्षित गर्छ ? ‘खासमा चलचित्रमा न मेरो रुचि थियो न त परिवारको साथ तर ऋतुको स्क्रिप्ट र जुझारु टिमका कारण अभिनय गरें’, मलिना भन्छिन्, ‘चलचित्र क्षेत्रमै जीवन समर्पित गरिएला भन्ने त अझै पनि मलाई लाग्दैन तर नामका लागि पनि केही समय काम गर्छु ।’ मलिनाको सोचसँग धेरै युवतीको सपना मिल्छ । जीवन अभिनयमै समर्पित गर्न चाहनेहरू थोरै छन् तर नाम कमाउन केही वर्ष यस क्षेत्रलाई अँगाल्नेहरू धेरै छन् । नेपाली चलचित्रमा आफ्नो पहिचान बनेपछि पलायन हुनेहरूको संख्या बढ्नुको मुख्य कारण यही हो ।

पछिल्लो समय राम्रो सम्भावना बोकेर उदाएका कतिपय नायिकाको आकर्षण लोभलाग्दो छ । चलचित्र ‘जेरी’ दर्शकमाझ आएपछि आना शर्मा युवापुस्ताको रोजाइमा परिन् । उनले आफूलाई भविष्यकी आशालाग्दी अभिनेत्रीका रूपमा स्थापित गरेकी छन् । अहिले साम्राज्ञी र आनालाई प्रतिस्पर्धी नायिकाका रूपमा लिन थालिएको छ । उनीहरूका गतिविधि समाजमा चासोको विषय बन्नु चानचुने कुरो होइन । यो छविलाई कसरी ‘क्यारी’ गर्छन्, त्यो उनीहरूमा भर पर्ने कुरा हो तर यति सानै उमेरमा त्यो अवस्था हासिल गर्ने आधार भने चलचित्र नै बनेको छ ।

पहिलो वैवाहिक जीवन र अमेरिका बसाइ टुंग्याएर नेपाल फर्केकी अर्की प्रियंका कार्की त अहिले नेपाली चलचित्रमा निःसन्देह नम्बर एक नायिकाका रूपमा दरिएकी छन् । व्यावसायिक रूपमा सफल भएका, ठूलो बजेटका चलचित्रमा उनको दबदबा कायमै छ । सिंगापुरमा जन्मिएकी माला लिम्बू त्यहाँ प्राप्त अनेकौं अवसर त्यागेर अहिले अभिनयमा भविष्य खोजिरहेकी छन् । उनी अभिनित प्रदर्शनमा आएको पहिलो चलचित्र ‘वन वे’ले चमत्कारी व्यवसाय नगरे पनि उनलाई भने चिनायो । चलचित्र क्षेत्रमा उनको अभिनय, नृत्य एवं सुन्दरताको प्रशंसा हुने गर्छ । अमेरिकामा बढेर नेपाल फर्केकी आशिष्मा नकर्मीले पनि चलचित्रमा दरिलो उपस्थिति जनाइसकेकी छन् ।

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट उदाएकी स्वस्तिमा खड्काले आफूलाई सम्भावना बोकेकी नायिकाका रूपमा उभ्याएकी छन् । एउटै चलचित्रबाट कतिसम्म चर्चा पाउन सकिन्छ भन्ने उदाहरण बनिन् उनी । निर्देशक निश्चल बस्नेतसँगको प्रेम सम्बन्धलाई साकार पार्दै वैवाहिक जीवनमा बाँधिएपछि अब अभियनलाई कसरी अगाडि बढाउँछिन् त्यो भने भविष्यले तय गर्नेछ ।

चलचित्र ‘आभास’बाट अभिनय यात्रा सुरु गरेकी आश्मा डीसी अभिनित अर्को चलचित्र ‘नाइँ नभन्नु ल ३’ मा पनि उनको अभिनयको प्रशंसा भयो । टेलिभिजन प्रस्तोता हुँदै अभिनयमा आएकी उनको अभिनय यात्रा अपेक्षा गरेअनुरूप प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन तर उनले आफूलाई प्रतिभाशाली नायिकाका रूपमा उभ्याइसकेकी छन् । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट उदाएकी शशि श्रेष्ठकोे जीवनमा नायिका बन्ने कुनै सपना थिएन । रंगीन पर्दाले उनलाई पनि लोभ्यायो । यस क्षेत्रमा प्रवेश गरेपछि आफूले धेरै कुरा सिकेको उनको भनाइ छ । शशिजस्तै कतिपय प्रभावशाली युवतीहरू नायिका बन्ने सपना नभए पनि अवसरको सदुपयोग गर्दै यस क्षेत्रमा उदाएका छन् ।

रेखा थापापछि छवि ओझा क्याम्पमा प्रवेश पाएकी शिल्पा पोखरेलले छोटो समयमा राम्रो चर्चा पाइन् । ‘लज्जा’ र ‘हल्दार सुन्तली’जस्ता चलचित्रबाट अभिनयलाई अगाडि बढाएकी उनी चलचित्रमा आउनुअगाडि म्युजिक भिडियोमा मोडलिङ गर्थिन् । दर्जनौं म्युजिक भिडियोमा मोडलिङ गरेकी उनको अभिनय पनि प्रभावशाली मानिन्छ । यी अभिनेत्री प्रतिनिधि पात्र मात्रै हुन् । अभिनयबाट भाग्य खोजिरहेका प्रतिभाशाली युवतीको नेपाली चलचित्रमा कमी छैन । वास्तवमा सानै उमेर अर्थात् छोटो समयमै आफूलाई समाजमा स्थापित गर्न शक्तिशाली माध्यमका रूपमा स्थापित भएको छ अभिनय । हलिउड, बलिउडमा केही विश्वविख्यात सेलिब्रेटी छन्, जसले अभिनयबाट टिनएजमै करोडौं फ्यानका धनी बन्न सफल भए ।

Loading...

LEAVE A REPLY