चीन ‘उत्तर कोरियाविरुद्धको सहमतिमा’

506
Loading...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले बताएका छन्, ‘उत्तर कोरियाको धम्कीपूर्ण व्यवहार’विरुद्धको अन्तर्राष्ट्रिय सहमतिमा अब चीन पनि सम्मिलित भएको छ।

चीन लगायतका देहशरुले त्यस्तो व्यवहारविरुद्ध विकल्पहरु तयार गरिरहेको एच आर मक्मास्टरले बताएका छन्।

त्यो भन्दा अघि एसियाको १० दिने भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले त्यहाँ रहेका अमेरिकी सैनिकलाई सम्बोधन गर्दै सोलप्रतिको अमेरिकी प्रतिबद्धता दृढ रहेको बताएका थिए।

यो उक्त क्षेत्रमा उनको पहिलो औपचारिक भ्रमण हो।

तनाव बढ्दो

उत्तर कोरियाले असफल क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामा उनी दक्षिण कोरिया पुगेका थिए।

अमेरिकी उपराष्ट्रपति पेन्सले सोलमा उत्तर कोरियाको क्षेप्यास्त्र र परमाणु हतियारसम्बन्धी कार्यक्रमका बारेमा छलफल गर्ने अनुमान गरिएको छ।

उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको केही समयमै त्यो ध्वस्त भएको अमेरिकी र दक्षिण कोरियाली सैनिक अधिकारीहरु बताउँछन्।

त्यो क्षेत्रमा बढ्दो तनावका बीच प्योङयाङले अमेरिकालाई द्वन्द्वबाट पछि नहट्ने चेतावनी दिएको छ।

सम्भावना कम

एउटा परेडमा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र जस्तो देखिने वस्तु प्रदर्शन गरेको थियो।

तर उत्तर कोरियासँग त्यस्तो लामो दूरीको क्षेप्यास्त्र हुनसक्ने सम्भावना कम भएको एकजना नाम नखुलाइएका अमेरिकी अधिकारी बताउँछन्।

उत्तर कोरियाका त्यस्ता परीक्षणको सफलताको दर बढिरहेको छ तर पनि धेरैजसो असफल नै भएको अभिलेख छ।

अर्थात प्योङयाङले परेडमा थुप्रै किसिमका हतियार प्रदर्शन गरेको भएतापनि उसँग प्रभावकारी परमाणु हतियारको भण्डार भने नहुन सक्छ।

एक्लो

एक्लिएको उत्तर कोरियामाथि वाशिङटनले दवाव बढाएको छ र राष्ट्रपति ट्रम्पले परमाणु हतियारको खतराको सामना गर्न अमेरिका एक्लै कदम चाल्न तयार रहेको बताएका छन्।

तर उत्तर कोरियाका हतियारले प्रहार गर्न सक्ने दूरीमा दक्षिण कोरिया रहेको हुनाले उत्तर कोरियामाथि आक्रमण गर्नुको सम्भावित मूल्य अमेरिकालाई थाहा छ।

परीक्षणहरु असफल भएतापनि उत्तर कोरियाको हतियार विकास कार्यक्रम रोकिएको छैन र उसको उद्देश्य भनेको विश्वमा जहाँ पनि प्रहार गर्न सक्ने क्षेप्यास्त्रमा परमाणु बम जडान गर्नु रहेको बताइएको छ।

प्योङयाङले त्यस प्रयोजनका लागि सानो आकारको परमाणु हतियार बनाइसकेको दावी गरेको छ तर त्यसको प्रमाण नदेखिएको हुँदा विज्ञहरुले त्यसमा सन्देह व्यक्त गरेका छन्।

उल्लंघन

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई त्यस्ता कुनै पनि परीक्षण गर्न निषेध गरेको छ।

तर ती प्रतिबन्धलाई बारम्बार तोड्दै उत्तर कोरियाले यो भन्दा अघि नै पाँचवटा परमाणु बमको परीक्षण र थुप्रै क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ।

पछिल्लो पटक चिनियाँ राष्ट्रपतिले अमेरिकी समकक्षी ट्रम्पलाई भेट्ने दिनअघि उत्तर कोरियाले समुद्रमा मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो।

पछि ती दुईले उत्तर कोरियाका ती कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा वार्ता गरेका थिए।

शुक्रबार चीनका विदेशमन्त्री वाङ यीले त्यो क्षेत्रको स्थिति खराब बन्दै गइरहेको भन्दै कुनै पनि बेला द्वन्द्व शुरु हुनसक्ने चेतावनी दिएका थिए।

Loading...

LEAVE A REPLY