काठमाडौँ, ८ माघ -नेपाली चेली तेरिया फौजा मगरले चर्चित भारतीय कलाकारलाई पछि पार्दै फेरि एक पटक भारतीय टेलिभिजनको रियालिटी सोमा उत्कृष्ट नृत्यको उपाधि जितेकी छन् । भारतीय टेलिभिजन च्यानल कलर्सको रियालिटी सो ‘झलक दिखला जा’ मा नेपाली चेली तेरिया उपाधि विजेता बन्न सफल भएकी हुन्, आजको राजधानी दैनिकमा खबर छ |

यो जितसँगै उनले फेरि एकपटक नेपाललाई नृत्यबाट भारतमा चिनाएकी छिन् । भारतीय अनलाइन बलिउड लाइफ डटकमका अनुसार सो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा तेरियाले सबैभन्दा बढी एसएमएस र अनलाइन भोट प्राप्त गरेर विजेता बनेकी हुन् । शनिबार बेलुका १० बजेपछि कलर्स टेलिभिजनको ‘झलक दिखला जा’को फाइनल कार्यक्रममा नेपाली चेली तेरियालाई औपचारिक रूपमा विजेता घोषणा गरिने पनि सो अनलाइनले जनाएको छ ।
रूपन्देही रुद्रपुरकी १४ वर्षीया तेरियाले आफू सो प्रतियोगितामा दर्शकको भोटबाट उत्कृष्ट भएको जानकारी शुक्रबार दिउँसो आफ्ना हजुरबुबा कृष्ण फौजा मगरलाई गराएकी थिइन् । आफ्नी नातिनी तेरियालाई जिताउन आफूले सञ्चानल गरेको अभियानमा फेरि नेपालीले साथ दिएर नेपाललाई विश्वमा चिनाउन सघाएको तेरियाका हजुरबुबा कृष्णले बताएका छन् । बाल्यकालदेखि नृत्यमा पोख्त तेरियाले नेपालमै आफ्ना गुरुहरूसँग नृत्य सिकेर भारतमा सो सफलता हासिल गरेको उनले बताए ।

LEAVE A REPLY