मधेशी मोर्चा सहितको संघीय गठबन्धनद्वारा आमहड्तालसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक (सूचीसहित)

372
Loading...

मधेशी मोर्चा सहितको संघीय गठबन्धनले निर्वाचन बिथोल्ने उदेश्य सहित आन्दोलनका कार्यक्रम आज सार्वजनिक गरेको छ । मधेसी मार्चा र गठबन्धनले पत्रकार सम्मेलन गर्दै बैशाख ५ गतेदेखि २७ गतेसम्म जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मसाल जुलुस गर्ने र वैशाख २७ गतेदेखि आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आफुहरुसंग भएको अनौपचारिक सहमति विपरित सरकारले संविधान संशोधनको नयाँ विधेयक ल्याएको भन्दै गठबन्धनले असन्तुष्टि जनाउँदै आएको छ ।जनकपुर, उदयपुर, वीरगञ्ज, काभ्रे, विराटनगर, भैरहवा, पाल्पा, नेपालगञ्ज, धनगढी, विर्तामोड लगायत १३ वटा मुख्य शहरहरुमा बैशाख ९ गतेदेखि १२ गतेसम्म आमसभा गर्ने, १३ गते गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शन गर्ने, १४ गते जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुस प्रदर्शन गर्ने, १५ गते मधेश/थरुहट र लिम्बुवान बन्द गर्ने, १६ गते नेपाल बन्द, १९ गते मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शन गर्ने, २६ गते जिल्लहरुमा मसाल जुलुस प्रदर्शन गर्ने, र २७ गतेदेखि अनिश्चितकालिन नेपाल बन्द गर्ने गठबन्धनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सरकारले मोर्चाकै माग सम्बोधन गर्न भन्दै पुरानो संशोधन विधेयक फिर्ता लिएर संसदमा गत चैत २९ गते संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरे पनि सो प्रस्ताव समेत मोर्चा र गठबन्धनसँग भएको सहमति विपरित रहेको भन्दै गठबन्धनले आन्न्दोलनमा जान बाध्य भएको जनाएको छ । गठबन्धनको हिजोको बैठकले वैशाख ५ देखि ३१ सम्म निर्वाचन प्रभावित गर्ने ढंगले प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय गरेको थियो । सरकारले मधेस केन्द्रित दललाई निर्वाचनमा आउन आग्रह गर्दै संवादबाट अघि बढ्ने बताएको छ । गठबन्धनले भने संविधान संशोधन नभई निर्वाचनमा नजाने स्पष्ट पारेको छ ।

LEAVE A REPLY