काठमाडौं ।  मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल–सिन्धु खण्डको साढे ९ किलोमिटर लामो सुरुङ खन्ने काम आज सकिँदैछ ।
सुन्दरीजल–सिन्धुखण्डको सुरुङ आज बुधबार सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए । उनका अनुसार यो समेत गरी अब आयोजनाको सुरुङ खन्ने काम ५ किलोमिटर मात्र बाँकी छ ।
मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म कुल साढे २७ किलोमिटर लामो सुरुङमध्ये साढे २२ किलोमिटर सम्पन्न भएको छ ।
आगामी असोजभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने समितिको योजना छ । आगामी असारसम्ममा मेलम्चीको रिवर्मादेखि सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङको काम सम्पन्न गरी दसैंअगावै यसको तयारी, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल जडान सम्पन्न गर्ने लक्ष्य समितिको छ ।
असोजसम्ममा डिसिन्टिङ वेसिन निर्माण सम्पन्न नभए पनि डीआई पाइपको वाइपास निर्माण गरी वैकल्पिक उपाय कार्यान्वयन गरी असोजभित्र उपत्यकामा पानी वितरण गर्ने तयारी समितिको छ ।
आयोजनाअन्तर्गत सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको पहिलो भागको परीक्षण गरी असारसम्म सञ्चालनमा ल्याइने, आगामी ०७४÷०७५ सम्म पानी प्रशोधन केन्द्रको क्षमता विस्तार सकिनेछ ।
काठमाडौं उपत्यकामा थप पानी ल्याउन मेलम्चीको रिवर्मादेखि ११ किलोमिटर लामो सुरुङ खनेर याङ्ग्री र लार्केखोलाबाट १७ करोड लिटरका दरले थप ३४ करोड लिटर पानी आपूर्ति बढाउने भएको छ । यो समेत गरी ९ महिना उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुनेछ । सुख्खायामको ३ महिनामा मेलम्चीबाट १७ करोड लिटरमात्र पानी आपूर्ति हुनेछ ।
आयोजनाको अनुमानित कुल लागत २३ अर्ब ४५ करोड ८६ लाख रुपैयाँमध्ये हालसम्म साढे १९ अर्ब रुपैयाँ खर्च भएको छ । भौतिक प्रगति ८५ प्रतिशत सकिएको र साढे १४ प्रतिशत पूरा गर्न बाँकी छ । मेलम्चीको दोस्रो उप–आयोजना अन्तर्गत उपत्यकामा खानेपानी सुधारका लागि पाइप बिछ्याउने काम जारी छ ।

LEAVE A REPLY