रुपन्देही ११ लाई टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि

213
Loading...

नेपालगञ्ज । टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबलको उपाधि रुपन्देही ११ ले जितेको छ । बिहीबार भएको फाइनलमा काठमाडौंको सिएमजी संकटा क्लबलाई सडन डेथमा पराजित गर्दै रुपन्देहीले दोस्रो सस्करणको उपाधि जितेको हो ।

नेपालगञ्ज रंगशालामा भएको फाइनलमा निर्धारित र थपिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो । तर ट्राइबेकरमा पनि ४–४ गोलको बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा गौरव बुढाथोकीले गोल गर्दै रुपन्देहीलाई उपाधि दिलाए । सडन डेथको संकटाका राज पौडेलले गोल गर्न सकेनन् । त्यसअघि टाइब्रेकरमा दुवै टोलीले ८–८ पेनाल्टी प्रहार गरेका थिए ।

निकै रोमान्चक बनेको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने संकटाले अग्रता लिएको थियो । खेलको ६५ औ मिनेटमा अनिल गुरुङ (जुनियर) ले पेनाल्टीमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर. खेलको ८८ औ मिनेटमा रुपन्देहीका शिब सुबेदीले बराबरी गोल फर्काएका थिए ।

उपाधिसंगै रुपन्देहीले ५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेतामा सीमित बनेको संकटाले २ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका रुपन्देहीका अमर डंगोलले सुजुकीको मोटरसाइकल पुरस्कार पाएका छन् । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।

LEAVE A REPLY