वाग्मतीसँगै अब चक्रपथ सफाइ अभियान

205
Loading...

वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु भएको हो।   शनिबार मात्रै चक्रपथ सफाइ अभियानअन्तर्गत १० मेट्रिक टन फोहोर सङ्कलन तथा व्यवस्थापन गरिएको छ ।  वाग्मती सफाइ अभियानका संयोजक तथा पूर्व सचिव किशोर थापाले वाग्मती सफाइको सफलताबाट उत्साहित भएर चक्रपथ सफाइ अभियान प्रारम्भ गरिएको बताए। वाग्मती सफाइ महाअभियान २००औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारद्वारा जारी दसबुँदे सफाइ घोषणापत्रको कार्यान्वयनस्वरूप चक्रपथ सफाइ अभियान सुरु गरिएको उनले बताए। मुख्य सचिव डा. सोमलाल सुवेदीले सो घोषणापत्र जारी गरेका थिए। पूरा चक्रपथ नै सफाइ गरिने दीर्घकालीन लक्ष्य रहेको उनले बताए। उनका अनुसार नौ किलोमिटर चक्रपथ खण्ड विस्तार कार्य सम्पन्नपछि सफाइ गरिनेछ ।  सडकका फोहोरमैला नदीनालामा नै विसर्जन हुने भएकाले सडक सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने बताउँदै संयोजक थापाले सडक सफाइसँगै उपत्यकाका नदीनालासमेत सफा हुने विश्वास व्यक्त गरे। चक्रपथ सफाइको क्रममा १० मेट्रिक टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो ।  चक्रपथ सफाइ अभियानका क्रममा करिब चार सय जनाको सहभागिता थियो । अभियानको शुभारम्भ गर्दै शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घरटोल र हाम्रा सडक किनारा सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने भएकाले चक्रपथ सफाइ अभियान सुरु गरिएको बताए। उनले चक्रपथ सफाइ अभियानले उपत्यकाका नदीनाला सफाइमा मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरे। यसैगरी शनिबारको सफाइ अभियानअन्तर्गत उपत्यकाका विभिन्न नदीनालाबाट करिब १३ मेट्रिक टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको जानकारी वाग्मती सफाइ अभियन्ता चक्रबहादुर चन्दले दिए।

Loading...

LEAVE A REPLY