श्रममा सरुवा भएको डेढ महिनामै अर्थ पुगे महेश्वर, ताकेका थिए आईआरडी, हाजिरसम्म गर्न पाएनन्

108
Loading...

काठमाडौं । मंसिरसम्म सहसचिव महेश्वर न्यौपाने उद्योग विभागका महानिर्देशक थिए। एनसेलको लाभांस भुक्तानी प्रकरणमा जोडिएपछि न्यौपानेलाई मन्त्रालयमा हाजिर हुन उद्योगमन्त्री नविन्द्रराज जोशीले निर्देशन दिए। मन्त्रीको निर्देशनपछि उनी एक महिना विदा बसे।

यही समयमा उनले सरुवा मिलाएपछि मंसिर २७ गते उद्योगबाट रमना लिएर उनी श्रम मन्त्रालय पुगे। त्यहाँ उनले डेढ महिना मात्रै विताएका थिए, फेरी सरुवा मागे। र यसपटक उनको सरुवा माघ १४ गते अर्थमन्त्रालयमा भयो।

न्यौपानेसँगै १९ सहसचिवको सरुवा भएको थियो तर श्रमबाट अर्थ पुगेका न्यौपानेले अहिलेसम्म मन्त्रालयमा हाजिर गर्न भने पाएका छैनन्। उनीसँगै आएका दुई सहसचिव विश्वप्रकाश सुवेदी र रामशरण चिमोरियाले भने मन्त्रालयमा हाजिर गरिसकेका छन्।

ताकेका छन् आन्तरिक राजस्व

सुरुमा आन्तरिक राजस्व विभाग (आईआरडी) अन्तर्गतको कर कार्यालयको हाकिम भएका न्यौपाने चुनावताका निर्वाचन आयोग पुगेका थिए। चुनाव सकिएपछि आयोगको मोह त्यागेका उनी महेश बस्नेत उद्योग मन्त्री बनेपछि उक्त मन्त्रालय छिरे र उद्योग विभागको महानिर्देशक (डिजी) बने।

उनी उद्योगमा रहँदा एनसेल बिक्री भयो। एनसेलको लाभकरमा उनले सरकारको स्ट्याण्ड राख्न सकेनन्। पछि एनसेललाई लाभांश बापतको रकम (क्यास रिप्याट्रियशन) विदेश लैजान दिन उनले राष्ट्र बैंकसँग सहमति जनाएको खुलेपछि मन्त्री जोशीले मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए।

आगामी भदौताका सचिव बन्ने लाइनमा रहेका उनलाई श्रम मन्त्रालयमा चित्त बुझेन। त्यसपछि उनी अर्थमन्त्री कृष्णबहादुर महराको ग्रिन सिग्नलमा आन्तरिक राजस्व विभागका महानिर्देशक बन्ने योजनाका साथ अर्थमन्त्रालयमा सरुवा मागे।

एनसेल प्रकरणमा विवादास्पद न्यौपानेको सरुवा अर्थमन्त्रालयमा हुँदैछ भन्ने हल्ला चलेपछि अर्थका दुई सचिवले मन्त्री महरासँग न्यौपानेलाई भित्र्याउन हुन्न भन्ने कडा अडान राखे। दुई सचिवको अडानपछि गलेका महराले सरुवाको रमाना नदिन सामान्य प्रशासन मन्त्री किशोरकुमार बुढाथोकीलाई आग्रह गरे।

सचिवको अडान र मन्त्रीको हस्तक्षेपपछि न्यौपानेको सरुवा नहुनेमा अर्थमन्त्रालयका  सबैजना ढुक्क थिए। तर, भैदियो के भने सामान्य प्रशासन मन्त्रालयका सहसचिव मुकुन्द निरौलाको सरुवा श्रम मन्त्रालयमा भएको थियो। न्यौपानेले श्रमबाट रमाना नलिएसम्म निरौलाको सरुवा पनि अड्किने भयो।

अर्थ र सामान्यका सचिव र मन्त्रीको निर्देशन विपरित निरौलाले न्यौपानेलाई  सरुवाको पत्र दिए। न्यौपानेले पनि दश दिनसम्म श्रमबाट अर्थमा भएको सरुवाको पत्र खल्तीमै राखेर हिंडे।

गत साता न्यौपाने श्रमबाट सरुवाको रमाना लिएर अर्थमन्त्रालय आइपुगे। उनी आएपछि अर्थका दुवै सचिव झस्किए। हाजिर गर्नुपर्यो भनेर न्यौपाने अहिले हरेक दिन अर्थ पुग्छन्, तर सचिवहरुले भने मन्त्रीसँग सल्लाह गरौंला भनेर उनलाई हाजिर गर्नबाट रोकिरहेका छन्।

सरुवा भयो गोलमाल
न्यौपानेसहित तीन जना सहसचिव अर्थमन्त्रालय पुगेपछि अर्थ मन्त्रालय भित्रको सरुवा भने गोलमाल भएको छ। भन्सार विभागका महानिर्देशक समेत रहेका  सहसचिव शिशिरकुमार ढुङ्गाना सचिवमा बढुवा भएपछि भन्सार विभाग अहिले खाली छ।

त्यसैगरी सामान्यतया दुई वर्ष भित्र विभागीय प्रमुखको सरुवा हुनुपर्ने भए पनि आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको सरुवा साढे दुई वर्ष वितिसक्दा पनि भएको छैन्। त्यसैगरी राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरी अधिकारीले पनि विभागबाट सरुवा मागेका छन्।

तर तीन वटा विभागको प्रमुखमा कसलाई पठाउने र न्यौपानेलाई के जिम्मेवारी दिने भन्ने विवादका कारण अर्थको सरुवा अल्झिरहेको छ। साढे दुई वर्ष आन्तरिक राजस्वमा विताइसके पनि शर्माले अझै त्यहीं निरन्तरता चाहेका छन्। तर दुवै जना सचिव भने ‘भ्याट कार्यान्वयनमा आएको इरोजन’लाई आधार मानेर शर्मालाई तुरुन्तै त्यहाँबाट सरुवा गर्ने मनस्थितिमा छन्।

सुरुमा शर्मालाई सरुवा गर्नुपर्छ भन्ने सोंचमा रहेका मन्त्री महरा अहिले भने चुनावसम्मका लागि उनलाई त्यहीं निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छन्। उता राजस्व अनुसन्धान विभागमा जानका लागि भर्खर सरुवा भएर आएका रामशरण चिमोरिया र कर्मचारी प्रशासन सम्हालिरहेका रामकृष्ण सुवेदीले पहल गरिरहेका छन्।

दुवै सचिव भन्सार विभागमा महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत केवल भण्डारीलाई पठाउन चाहिरहेका छन्। तर भण्डारीले भने कार्यालयमा पेफा लगायतका केही नयाँ काम भैरहेको भन्दै त्यहाँ जान इच्छा देखाएका छैनन्। अहिले राजस्व प्रशासन तालिम केन्द्रका प्रमुख रहेका सहसचिव अर्जुन पोखरेलको चाहना भन्सार विभाग जानेमा छ।

तीन सहसहचिवको सरुवा
अर्थमन्त्रालयले वरिष्ठ सहसचिवको सरुवा नटुङ्गाए पनि बुधवार तीन सहसचिवको सरुवा भने गरेको छ। एनसेल प्रकरणलाई हेरिरहेका ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेललाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ। त्यसैगरी ठूला करदाता कार्यालयमा भने माओवादी नेता दिनानाथ शर्माका आफन्त बलराम रिजाललाई ल्याइएको छ।

राजस्वका क्याडर उनी आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्वर तीनका प्रमुख थिए। त्यसैगरी रिजालको स्थानमा भन्सारका उपमहानिर्देशक सुमन दाहाललाई सरुवा गरिएको छ। वरिष्ठ सहसचिव भए पनि डिडिजीका रुपमा सरुवा गरिएपछि पौडेल सन्तुष्ट भने छैनन्। आफूभन्दा जुनियर सहसचिवले अर्थकै अर्को विभागको नेतृत्व गर्ने तर सिनियर भएर पनि डिडिजी हुनुपर्ने भन्नेमा उनी दुखी छन्।

LEAVE A REPLY