काठमाडौं – हास्यकलाकार आरपी (रुप्रसाद) भट्टराईको शुक्रबार निधन भएको छ । उनी मृत अवस्थामा भेटिएको कलाकार दीपकराज गिरीले जानकारी दिए । प्रेसर र सुगर रोगका विरामी उनी एक कार्यक्रमको लागि भन्दै चार दिन अघि फूपुको घर विराटनगर गएका थिए । ४२ वर्षका आरपीकी श्रीमती र दुई छोरा छन् । उनकी श्रीमती वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा रहेकी छन् ।

आरपीसँगै विभिन्न स्टेजमा काम गरेका हाँस्य कलाकार शिवहरी पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनको निधन पत्याउनै नसकिने दुःखद खबर भएको भन्दै आत्मा शान्तिकामना गरेका छन् ।

त्यस्तै निर्देशक समेत रहेकी कलाकार दीपाश्री निरौलाले आरपीको निधनले देशले असल कलाकार र आफुले असल मित्र गुमाएको बताएकी छन् ।
त्यस्तै चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष बिदुर गिरीले आरपीको निधनको खबर आफुले अहिले पनि पत्याउन नसकेको बताउँदै आत्मा शान्तिको कामना गरेका छन् ।

को हुन् आरपी ?
मोरङको विराटनगर उप–महानगरपालिकामा जन्मिएका आरपी भट्टराईको पुरा नाम रुप्रसाद भट्टराई हो । २०४३ सालबाट उनले अभिनय थालेका हुन् । राष्ट्रिय नाघरमा जमलमा नाट्य कलाकारको रुपमा उनी अहिले पनि कार्यरत थिए । चार दर्जन भन्दा बढि टेलिसिरियल र आधा दर्जन बढी चलचित्र अभिनय गरेका उनी थुप्रै स्टेज कार्यक्रममा पनि देखिएका छन् । उनले ‘गाइजात्रा’मा पनि आफ्नो प्रस्तुति राख्दै आएका थिए । उनी गायक तथा चलचित्रका प्रोडक्सन कन्ट्रोलर पनि हुन् ।
 अभिनय
उनले ‘तितो सत्य’, ‘मेरी बास्सै’,‘५२ घुस्सा ५३’ ठक्कर लगायतको टेलिचलचित्रमा अभिनय गरेका छन् । उनले हाँस्यश्रृखला ‘तितोसत्य’मा बोल्ने थेगो ‘लाजालाम मेरो नाम, इन्जिनियर मेरो काम’ चर्चित थियो ।
उनले ‘वडा नं ६’लगायत ‘छक्का पन्जा’ लगायत करिब आधा दर्जन चलचित्रमा समेत अभिनय गरे । उनको पछिल्लो चलचित्र ‘छक्का पन्जा’ अहिले प्रदर्शन भइरहेको छ । आफ्नो एल्बमको गीतबाट बनेका म्युजिक भिडियोमा समेत उनको अभिनय रहेको थियो ।
 एल्बम
आरपीका चार एल्बम बजारमा आएका छन् । केही पहिले मात्र एक एल्बम बजारमा ल्याएका उनको भैरव अर्यालको शब्दमा ‘जय भुडी’ एल्बम निकै हिट मानिन्छ ।
एल्बम ‘जय भुडी’मा उनले हाडी घोप्टे भुडी, घ्याम्पे भुडी, टाकनटुकन भुडी र ठन्डाराम भुडी प्रस्तुत गरेका थिए । यसको अलवा अलवा उनको ‘या या थुईक्क’, ‘माली गाईको घ्यु गुलियो राम्रो’ छन् ।

LEAVE A REPLY