उडेको केही सेकेण्डमै जिपलाइनमा अड्किएपछि…

0
25

नयाँ ठाउँ, नयाँ अनुभव बटुल्ने इच्छा, रहर कसलाई पो नहोला र!

स्कुल,  कलेज पढ्दाताका शैक्षिक भ्रमणका नाममा पोखरा, लुम्बिनीजस्ता नयाँ/ठाउँ गइयो। अनुभव बटुलियो। तर, कलेज सकिएसँगै जागिर खान थालेँ त्यसपछि घरदेखि अफिस र अफिसदेखि घर नै मेरो दैनिकी बन्यो।

घुमफिर गर्ने साथीसँग भेटघाट गर्ने भनेको मेरा लागि लगभग सेयर मार्केटको ‘रेड जोन’ जस्तै बनेको थियो। न कसैसँग भेट हुन्थ्यो न त घुमफिर नै।

मिडियामा काम  गर्ने धेरै घुमफिर गर्ने गरेको देखे सुनेको छु। तर, डेस्कमै काम गर्ने भएकोले मेरा लागि यस्ता कुरामा चासो भए पनि अवसर कमै आउँथ्यो।

करिब डेढ वर्षदेखि दैनिकी बाहिर गएर सम्बन्ध विस्तार गर्ने दुनियाँबाट टाढै थिए।

मलाई बेला बेलामा अफिसबाट कही कतैको अफर नआएको भने होइन नयाँ/नयाँ ठाउँमा जानेबारे सोध्नु पनि हुन्थ्यो। तर, म सधैं हाँसेर टारिदिन्थें। कसैलाई चिनेकै छैन बेकारमा बोर फिल हुन्छ होस् जान्न भनिदिन्थेँ।

कही कतै नयाँ ठाउँमा घुमफिरको कार्यक्रम आएमा पनि मलाई भन्नुहुन्थ्यो  तर, म सधैं झै त्यसरी नै टारिदिन्थेँ।

फागुन २७ मंगलबार अफिसमा दैनिक काम गरिरहेकै थिएँ।

फेरि मलाई एउटा नयाँ अफर आयो। मैले सोधेँ, ‘कहाँ अनि कस्तो प्रोग्राम?’

‘जिप लाइन धुलिखेलमा, भोलि नै हुँदैछ छ रे’  उहाँले  भन्नुभयो।

हुनत बन्जिजम्प, र्‍याफ्टिङ, प्याराग्लाइडिङजस्ता एड्भेञ्चरस खेल खेल्ने र अनुभव बटुल्ने पहिलादेखिकै रहर थियो। तर मौका मिलिरहेको थिएन।

कलेज पढ्दाताका पोखरामा पहिलो पटक प्याग्लाइडिङ गरेको देखेको थिएँ। तर,  प्रति व्यक्ति ६ हजार ५ सय भनेपछि त्यो रहर त्यही तुहिएको थियो।

त्यो बेला त्यति पैसा खर्च गर्ने मेरो क्षमता थिएन। तर जिन्दगीमा एकपटक गरिछाड्ने अठोट लिएको थिएँ। नभन्दै यसपटक त्यस्तै मौका आयो। कसरी नकार्न सक्थें र!

अरू केही नसोची भोलि म पनि जान्छु भनिदिएँ।

तर मलाई कसले कार्यक्रमको आयोजना गरेको हो, अनि को को जान्छन् केही थाहा थिएन।

कोही कोहीलाई मात्र चिन्छु मिडिया सेक्टरका। कसैलाई नामले मात्र चिन्छु भने कसैलाई व्यक्तिगत रूपमा। तर, अधिकांशलाई चिन्दिनँ।

डेस्कमा  बसेको  बेफाइदा यही नै हो। जति फिल्डमा हिँड्नेले चिन्छन् त्यति डेस्कमा बस्नेले चिन्दैनन्।

त्यसपछि मैले कार्यक्रमको सेड्युल र सहभागी साथीको लिस्ट पाए।

फेरि मलाई ‘जिप लाइन? भनेको थाहा पनि थिएन। मलाई लागेको थियो प्याराग्लाइडिङकै एउटा प्रकार होला? किनभने यसअघि प्याराग्लाडिङकै कुरा भएको थियो।

अनि युट्यूवमा हेरेँ। र सोचेँ, ‘जे भए नि यो पनि त नयाँ अनुभव अनि एड्भेञ्चरस खेल हो नि।’ अनि पाएको बल्ल बल्लको एउटा अवसरलाई सदुपयोग गर्ने निर्णय गरेँ।

विभिन्न मिडियामा काम गर्ने १२ जना साथीमध्ये  केहीलाई व्यक्तिगत रूपमा चिनेको थिएँ भने कोहीलाई नाम मात्रैले। कसैको त नामै सुनेको थिइनँ।

बेलुका घर जाँदै थिएँ। फोनमा घण्टी बज्यो। सधैं झै ८  बजेपछि घरबाट फोन आउँथ्यो। नेपाली समाज न हो बेलुका अबेर भयो कि छोरीको चिन्ता हुन थाल्छ। कहाँ पुगी? किन ढिला? भनेर चिन्ता हुन्छ घरमा। मेरो परिवार पनि यस किसिमको चिन्ताबाट कहाँ अछुतो हुन सक्थ्यो र!

यो कल पनि घरबाटै होला भनेँ। तर, घर पुग्नै लागेको र स्कुटी चलाइरहेकोले फोन उठाउन सकिनँ। पछि  कल ब्याक गरेँ।कार्यक्रम संयोजकको रहेछ।

भोलि बिहान ७ :३५  बजे भृकुटीमण्डपमा सबै जना भेला भैसक्नुपर्ने भनेर अवगत गराउनुभयो। मैले पनि समयमै आउने बाचा गरेर फोन राखेँ।

त्यो रात कटाउन मलाई निकै गाह्रो भयो। एक त त्यो मेरो पहिलो फिल्ड भिजिट थियो। म डेस्कमा मात्र सीमित थिएँ। त्यसैले चिने जानेको कोही नहुँदा यात्रा कस्तो हुने होला? यी यावतमा कुराहरू मनमा खेलिरहे। कसोकसो निदाइएछ।

जब बिहान ५:३० को अर्लाम बज्यो म झल्यास्स ब्यूझिएँ र तयार हुन लागेँ। समयसीमा ७:३० को तोकिएको थियो। त्यसैले नृत्यकर्म गरेर भेट हुने ठाँउमा निर्धारित समयभन्दा आधाघण्टा पहिला पुगेँ। जब विष्णु दाइ (कार्यक्रम संयोजक) ले फोन गर्नुभयो। मैले  आइसकेको जानकारी दिएँ।

मलाई लाग्यो सबै आइसक्नु भयो होला म ढिला पो भएँ कि भनेर उहाँले भनेकै ठाउँतिर गएँ।

लगेको स्कुटर पर्यटन बोर्डमा पार्क गरेर गाडीतिर अगाडि बढेँ।

करिब २५-३० पाइलाको दूरीमा गाडी रोकिएको थियो। खुट्टा अगाडि बढे पनि आफूलाई त्यहाँ कसरी प्रस्तुत हुने भन्ने मथिंगलमा आइरहेको थियो। किनकी त्यहाँ उपस्थित सबैसँग जो पहिलो पटक भेट्दै थिएँ।

अलि नर्भस, अलि अड फिल भए पनि मैले अनुहारमा त्यस किसिमको एक्सप्रेसनलाई दबाइरहेको थिएँ। सकेसम्म आफैंलाई कम्फरटेबल फिल गराउन कोशिस गरिरहेको थिएँ। मेरा खुट्टाहरू भने अगाडि बढिनैरहे।

मन त्यतिबेला हलुका भयो जब म एक परिचित अनुहारको अगाडि पुगेँ।

सपना महर्जन।

कलेज पढ्दाताका उनी मेरो जुनियर थिइन्। त्यसैले त्यस दौरान हाम्रो चिना परिचय भएको थियो। उनलाई देख्ने बित्तिकै मनमा राहत मिल्यो केही हदसम्म। अरू त सबैअपरिचित अनुहार थिए मेरा लागि।

नाम चिने पनि मान्छे चिन्दिनथेँ।

निर्धारित समयले नेटो काटिसकेको थियो। तर अझै दुई जना आउन बाँकी रहेकाले केहीबेर पर्खिएपछि उहाँहरू आइपुग्नु भयो। तीमध्ये एक म कलेज पढ्दा  पढाउने सर हुनुहुँदो रहेछ।

मोदनाथ सर।

सबै भेला भएपछि गाडी  हुँकियो- सुपरम्यान जिप लाइन धुलिखेल, थाक्लेतिर।

त्यहाँ जाने चाँजोपाँजो मिलाएको थियो। वर्ल्ड वाइड एड्भेञ्चर प्रालिले।

गाडीको त्यो दुई साढे दुई घण्टा कसरी बित्यो पत्तै भएन। मोद सरले उहाँको विभिन्न यात्रा अनुभव सुनाउनुभयो। ख्याल ठट्टामै समय कट्यो।

म नयाँ भएकोले बोल्नेभन्दा सुन्न मै ध्यान दिएँ।

धुलिखेलबाट पाँचखालतर्फ बढ्दै जाँदा करिब २ किलोमिटरको दूरी रहेछ त्यो ठाउँ।

जाडोले त्यति छोडिसकेको थिएन। त्यसैले गामगुम्म लुगा लगाएर गएको थिएँ। तर, जब गन्तव्यस्थलमा पुगियो। त्यो लुगा आफैंलाई भारी पर्‍यो।

एउटा रमाइलो लागेको कुरा के भने लञ्च प्याड स्टेशन थाक्लेदेखि ल्याण्डिङ स्टेशन थावासम्मको दूरीले दुई नगरपालिकालाई छोएको रहेछ। पाँचखाल र धुलिखेल। मात्र ११ सय मिटरको त्यो दूरी।

जिपलाइनको ल्याडिङ स्टेशनमा कम्पनीका म्यानेजरले हामीलाई स्वागत गर्नुभयो।

रेस्टुरेन्ट बाहिरको परिसर। तस्बिर : सेतोपाटी

शान्त वातावरण, त्यहाँबाट देखिने मनमोहन दृश्य बन्दै गरेको रेस्टुरेन्टको सजावटले मनै छोयो। त्यहाँ पुगेपछि सबैको भोकै हरायो कि के हो कोही फोटो खिच्न थाले भने कोही गफिन।

केहीबेरपछि ब्रेकफास्ट लियौं र जिप फ्लाइङ गर्ने स्टेशनतर्फ थाक्लेतिर बढ्यौं।

जब स्टेशन पुग्यौं। मनमा एक किसिमको हलचल मच्चियो। त्यसैत्यसै मन उत्साहित भयो। साथीहरू भन्दै थिए बन्जिजम्प, प्याराग्लाइडिङ नगरेकालाई त डर लाग्ला है! होसियार हुनू।

यो त मेरो जिन्दगीकै पहिलो अनुभव थियो। यहाँभन्दा अगाडि  न प्याराग्लाइडिङ गरेको थिएँ न नै  बञ्जिजम्प। मलाई भने डरभन्दा नि रोमाञ्चकता र उत्सुकता थियो।

‘वाउ कस्तो एड्भेञ्चरियस् होला भनेर। यतिकै रमाइरहेको थिएँ।

सडकबाट लगभग २५-३० खुड्किलो पार गरेपछि भित्र छिर्ने गेट आउँछ। त्यो गेटलाई पनि छिचोल्दै करिब १५-२० खुड्किलो भर्‍याङ चढेपछि लञ्च  प्याड स्टेशन आउँछ।

फलामका डन्डीमा झुण्डाएर राखिएका थिए जिपलाइन खेल्नका लागि प्रयोग हुने सामग्री(हार्नेस, गगल, गोप्रो इत्यादि) र सहयोगका लागि बसेका थिए ४ जना।

तीन जना काम गर्ने रहेछन् भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो। किनकी उनीहरूले कम्पनीको ड्रेस लगाएका थिए। एक जना वाकीटकी बोकिरहेका थिए। जसले उनीहरूलाई काम अर्‍याइरहेका थिए।

त्यहाँ एउटा फर्म भर्न भनियो। त्यस फर्ममा नाम, ठेगाना, इमरजेन्सी नम्बर इत्यादि भरेपछि त्यही वाकिटकी बोक्ने मान्छेले जिप लाइनका किसिम, कस्ता मान्छेले कुन खालमा जिप लाइन गर्ने र सो बारे जानकारी गराए।

क्लासिक, सुपर म्यान र टेन्डम जिप लाइनमा सुपर म्यान ६०/६५ केजीभन्दा कम तौल भएकाले नगर्नू भनेर सुझाए।

विष्णु दाइले एक जना फोटोग्राफर साथीलाई जान भन्नुभयो। तर, उहाँ नमानेपछि आफैं पहिला उड्ने निष्कर्षमा पुग्नुभयो। त्यसपछि क्रमशः केटा साथीहरू अगाडि बढ्नुभयो। म भन्दा अघिका सबै साथीहरूले  सुपरम्यान गर्नुभयो। मलाई पनि मन थियो।

अब मेरो पालो आयो। ‘कुन गर्ने’ भनेर जिप मास्टरले सोध्नुभयो ‘जोडी छ भने टन्डम गर्नू’ सायद मेरो तौलको अनुमान गरेर होला प्रश्नसँगै सुझाव पनि एकैपटक दिनुभयो।

मैले हाँस्दै भने, ‘मेरो जोडी नै छैन कहाँ टेन्डम (जोडी) गर्नू!’

सुपर म्यानको लागि तौल पुगेन। क्लासिकनै  गर्ने निर्णय लिएँ।

सोचेँ पहिलो अनुभव हो जोडीभन्दा सिंगल नै बसेर अनुभव लिन्छु। कस्तो हुँदो रहेछ मेरो जीवनकै पहिलो एड्भेञ्चरियस् अनुभव।

शरीर सुरक्षाको लागि जिप मास्टरले कम्मरमा विशेष प्रकारको डोरीसहितको फूलबडी हार्नेस लगाइदिनु भयो। ताकी आफूले आफैंलाई सुरक्षित र भयरहित महशुस गर्न सकोस् भनेर। त्यसपछि टाउको सुरक्षाको लागि विशेष किसिमको टोपी आँखाको लागि चस्मा लगाइयो। उड्दै गरेको भिडियो खिच्नको लागि गोप्रो साथमा लिएँ।

सबै कुरा व्यवस्थित भएपछि म तयार छु कि छैन भनेर मेरो मनस्थिति बुझ्न खोज्नुभयो। तर, म भने चाहिनेभन्दा बढी नै तयार थिएँ। उत्सुक थिएँ अनि रोमाञ्चित पनि।

त्यसपछि उहाँहरूले १-२-३ गो, भनेर हुँत्याइदिनु भयो।

म चिच्याउँदै, कराउँदै, रोमाञ्चित अनि उत्सुक हुँदै गोप्रोले भिडियो खिच्दै उडेँ। तर, त्यो उत्सुकता र रोमाञ्चकता ३० सेकेण्ड पनि नपुग्दै ओइलायो।

प्रकृतिलाई पनि डाहा लागेछ कि के हो मेरो रोमाञ्चकतामा भाँजो हाल्न आइपुग्यो।

एक्कासी विपरीत दिशाबाट हावा बेजोडले आयो। एक त तौल कम, अर्को तर्फ हावाको त्यो निष्ठुरीपना। म जति नै अगाडि बढ्न खोजे पनि बढ्न सकिनँ। प्रकृतिसँग जुध्न सकिनँ। म हारें। त्यही पनि कोशिस जारी राखेँ।

त्यो निष्ठुरी हावासँग लडिरहेँ। के को रिस हो? किन रिस हो? एकछिन हावा नचलेको भए के नै जान्थ्यो र! भन्दै मनमनै मुरमुरी रहेँ।

त्यति बेला म प्रकृतिसँग रमाउनेभन्दा पनि जुधिरहेको थिएँ।

तर यो नाथे ज्यानले के नै गर्न सक्थ्यो र!

केहीबेर त्यहीँ अड्किएँ। जब हावाको गति कम  भयो। घिर्नीको सहायताले अलिकति अगाडि बढेँ। फेरि केही सेकेण्डमै अड्किए जिपलाइनमा। यो पटक भने हावाले होइन आफ्नै तौल शत्रु बन्यो।

जिपलाइनमा अड्किएपछि हेल्प गार्डले सहयोग गर्दै। तस्बिर : सेतोपाटी

तौल कम भएर म अगाडि बढ्न सकिनँ। उताबाट हेल्पगार्ड आउनु भयो र मलाई तानेर लानुभयो। ओर्लिन त ओर्लिएँ। तर, जुन किसिमको एड्भेञ्चरस् होस् भनेर सोचेको थिएँ त्यो भने भएन प्रकृतिले जो धोका दियो।

केहीबेरमै फेरि हावाहुरी आयो।

हावाहुरीले खेल नै प्रभावित पार्ने भन्दै स्टेशन म्यानेजरले केहीबेर खेल रोक्न सुझाए।

त्यस्तै आधा घण्टा जति खेल नै प्रभावित भयो।

त्यतिञ्जेलसम्म म रेस्टुरेन्टतर्फ अगाडि बढेँ। जब रेस्टुरेन्टभित्र छिरे बाहिरको हपहपी गर्मी एकैचोटि भुलेँ, शितल र शान्त  वातावरण जो थियो।

त्यहाँ हामीसँगै ट्रिपमा आएका साथी थिए। र उनीसँग थिए कालो र सेतो रङ मिसिएको स्वीटर त्यसबाहिर हाफ ज्याकेट, टाउकोमा चस्मा  भिरेका अन्दाजी ३०-३५ वर्षका व्यक्ति।

‘हावाले प्रभाव पार्ला जस्तो छ’, उहाँको मुखबाट सुनेँ।

अनि सजिलै अनुमान लगाएँ सायद यही  कम्पनीसँग सम्बन्धित हुनुहुन्छ भनेर।

‘अनि हजुर चाहिँ  यहाँको को हो?’, मैले प्रश्न तेर्स्याएँ।

मै हो यहाँको सञ्चालक केदार थापा। अनि माथि चाहिँ अर्को साथी हुनुहन्छ भुपेश जी। हामी दुई जनाले मिलेर यो प्रोजेक्ट चलाएका भनेर उहाँले भन्नु भयो।

मैले सोचेको भन्दा फरक व्यक्तित्व पाएँ। उहाँहरू यति ‘योङ’ हुनुहुन्छ भनेर सोचेको  थिइनँ।

मैले आफ्नो परिचय दिँदै यो व्यवसायसँग सम्बन्धित र आफूलाई उत्सुकता लागेको सबै कुरा सोधेँ।

त्यतिञ्जेल हावा रोकी सकिएको थियो र हामीसँगै बाहिर आयौं।

मभन्दा पछिका कम तौल भएका साथीहरू भटाभट सुपर म्यान प्लाइङ गरेको देखेर छक्क परेँ।

यही उत्सुकता मेटाउन फेरि केदारजीलाई सोधेँ, ‘६०/६५ तौल भन्दा कम भएकाले सुपरम्यान नगर्दा बेटर भन्नुहुन्थो त भुपेश जीले?’

उहाँले हाँस्दै भन्नुभयो, ‘खासमा कुरा त्यही हो सकेसम्म नगर्दा राम्रो। हामी गर्नु नै भनेर सुझाव दिँदैनौं कम तौल भएकालाई तर त्यही  खेल्छौं भन्नु भयो भने पनि नाइँनास्ती गर्दैनौं, खेलाइदिन्छौं’ उहाले भन्नुभयो।

यसमा महत्वपूर्ण पक्ष भनेकै हावा भएको उहाँले जानकारी दिनु भयो।

‘यस खेलमा पानीले भन्दा हावाले बढी प्रभाव पार्छ। पानी परिरहेकै बेला खेल्न सकिन्छ तर बेजोड हावा लाग्यो भने खेल नै रोक्नुपर्ने हुन्छ’, उहाँले बेलीविस्तार लगाउनु भयो।

‘हावा चलेको छैन भने तौलले पनि खासै प्रभाव पार्दैन तर हावा नै यो खेलको शत्रु भनेकै’, उहाँले अझ थप्नुभयो।

लगभग १ बजेसम्म सबैले खेलिसके। सबैले मजा मानिरहेका थिएँ। गर्मीको रापले सबै सेकिएका थिए।

खेलपश्चात सबै रेस्टुरेन्टभित्र गयौं। केही चिसो पिएर अलिक शान्त भयो।

म र सपना केहीबेर बच्चाहरूका लागि बनाउन लागेको चिल्ड्रेन एड्भेञ्चर क्याम्प हेर्न गयौं। बारीका कान्ला र वरिपरि घेरिएको जंगलले बालापन महशुस गरायो।

बच्चा बेलामा दाउरा खोज्न बारी काल्ला छिचोल्दै जंगल पस्थ्यौं, लालीगुराँस खोज्न जान्थ्यौं। बारी खन्न, ढोड काट्न जान्थ्यौं। वन जंगलमा निहुँरो खोज्न जान्थ्यौं। एक क्षणमै फ्ल्यास ब्याकमा पुगेँ।

ती क्षणले आनन्दित महशुस गरायो।

यो ठाउँ काठमाडौंको धूलो, धूँवाबाट आजित भएकाको लागि केही क्षण मन भुलाउने र आफूलाई आनन्दित महशुस गराउने  सम्भावित स्थल हुने अनुमान गरेँ।

प्रकृतिसँग रमाउनेको लागि त झन् ढुंगा खोज्दा देउवा मिलेजस्तो छ यो ठाउँ।

हामी त्यहाँ पुग्दा पनि धमाधम काम भइरहेको थियो। १६ वर्षभन्दा मुनिका बालबालिकाका लागि केन्द्रित ४-५ वटा त खेल सामग्री नै तयार भइसकेका थिए।

बालबच्चाका लागि खेल्न बनाइएको खेल। तस्बिर : सेतोपाटी
बालबच्चाका लागि खेल्न बनाइएको खेल। तस्बिर : सेतोपाटी
बालबच्चाका लागि खेल्न बनाइएको खेल। तस्बिर : सेतोपाटी

त्यसपछि केही बेर कार्यक्रमको बारे डिस्कशन भयो।

केदार जी र भुपेश जीले भने मेरो इच्छा बुझ्नुभएछ कि के हो, ‘सुपर म्यान गर्न इच्छा भए गर्नू’ भनेर सुझाउनु भयो।

मैले मुस्कानसहित ‘हुन्छ’ भनेर खानापछि खेल्ने सहमति जनाएँ।

खाना खापछि लगभग २ बजिसकेको थियो। हामीलाई दिएको तालिकाअनुसार २ बजे त काठमाडौं नै पुगिसक्नुपर्ने थियो। सबै साथीहरूलाई अफिस जान हतारो। कोही अफिसमै जानकारी नगराइ आएको भन्दै थिए भने कोही अफिस जान ढिलो भयो भन्दै विलौना गर्दै थिए।

हामी सबै बिदावारि हुने  तरखर गर्दै थियौं।

‘तपाईं सुपर म्यान खेल्ने भन्नु भएको होइन?’, भुपेश जीले पुन:  सम्झाउँदै मलाई सोध्नुभयो।

तर, समयको पावन्दीले त्यो रहर यसपटक पूरा हुन सकेन।

होस् यसपालि यस्तै भयो, अर्को पटक आउँदा गरौंला मुस्कानसहित उहाँ लगायत सबैलाई धन्यवाद दिएर त्यहाँबाट बिदा भएँ र हामी काठमाडौं  हुँकियौं।

अर्को पटक सिमसिम पानी परिरहेको बेला सुपरम्यान फ्लाइङ गरेर प्रकृतिसँग रमाउने मन छ।

प्रतीक्षा छ, त्यो दिनको। 

यो पनि :

‘सुपरम्यान फ्लाइङ’ को अनुभव बटुल्न जाने होइन त धुलिखेल?

एक उत्तर छोड्न