तुरतुरे तालमा आन्तरिक पर्यटक

0
17

बागलुङ — गंगाबहादुर थापाले पोहोरसम्म जीवनमै डुंगा चढेका थिएनन् । ढोरपाटन–१ का ५५ वर्षीय थापा अहिले डुंगाचालक भएका छन् । दैनिक पर्यटकलाई डुंगामा सयर गराएर राम्रो कमाइ गर्न थालेका छन् ।
गत वर्षातमा पहिरो गएर थुनिएको बडिगाड खोलामा बनेको तुरतुरे ताल जोगाउन स्थानीय तहले पहल गरेपछि थापासहितका पीडित कुमाल समुदायले डुंगा सयर गराएर कमाइ लिन थालेका हुन् ।

गत भदौ २९ गते मध्यपहाडी लोकमार्ग समेत अवरोध हुने गरी खसेको पहिरोले यहाँ १ किमि लामो ताल बनेको छ । यो ताल तत्काल फुटाएर फाल्न नसकिने सेनाको सल्लाहपछि ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले संरक्षणका अभियान चालेका थिए । संरक्षणकै क्रममा घर पुरिएका कुमालहरूलाई आयआर्जनको बाटो बनाउन सहयोगसमेत गरिएको हो ।
नगरपालिकाले र्‍याफ्टिङ डुंगा किनेर कुमाल समुदायलाई दिएको थियो । उक्त डुंगामा १० देखि १५ जनासम्म राखेर जग्गा र घर पुरिएकहरूले डुंगा चलाएका छन् । ‘एक जनालाई पूरै ताल घुमाएको ५ सय र सामान्य घुमेको १ सय ५० रुपैयाँ लिन्छौं,’ स्थानीय दीपक कुमालले भने, ‘सामूहिक रूपमा कमाइगरेपछि पीडितहरूलाई बाँड्ने गरेका छौं ।’ यहाँस्थित सिमलचौरका १५ घरको जग्गाजमिन, खेतीपाती तालले पुरेको छ । २ घर र २ गोठ पनि पुरिएका छन् ।
आर्कषक ताल बनेकाले बागलुङ बुर्तिबाङ यात्रा गर्नेदेखि विभिन्न स्थानबाट घुम्न आएकाहरूले दैनिक तालमा सयर गर्छन् । ओभरफ्लो भएको पानी नियमित बगेपछि यहाँ सफा र आकर्षक तालको रूपमा देखिएको छ । सुरुमा डरलाग्दो मानिएको यो ताल दुई महिनामै पर्यटकीय गन्तव्य बन्न थालेको हो । पहिरोले अवरुद्ध लोकमार्ग एक महिनापछि खुलाइयो ।
पूर्ण सुरक्षित नभए पनि एकतर्फी रूपमा यो सडक सञ्चालन भएको छ । थुनिएको खोला खुलाउन आएको सेनाको विज्ञ टोलीले वर्षातमा नखोल्ने सुझाव दिएको थियो ।
ठूला ढुंगा आएर थुनिएकाले पानीको बहावले फुटाल्ने सम्भावना नदेखेर सेनाको टोली फर्केपछि स्थानीयले यो ताललाई पर्यटक आकर्षण गर्ने स्थलको रूपमा बिकास गरेका हुन् । हिउँदमा पानी कम भएको बेला फुटाल्ने निष्कर्ष निकालेको सेनाको टोलीलाई पनि ताल सुरक्षित राख्नेबारे आग्रह गर्ने निष्कर्षमा पुगेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले बताए ।
गाउँपालिकाको बैठक तथा अन्य सामाजिक संघसंस्थाको बैठकमा पनि ताल जोगाएर राख्ने छलफल सुरु भएको हो । गाउँपालिका र ढोरपाटन नगरपालिकाले बजेटसमेत दिएर संरक्षणमा लगानी गर्ने भएका छन् । ‘गाउँपालिका र स्थनीय बासिन्दाहरू ९९ प्रतिशतले ताल जोगाएर पर्यटक भित्र्याउने सुझाव दिएका छन्,’ पाइजाले भने, ‘अहिले पनि दैनिक ५ सय जनासम्मले अवलोकन गरिरहेका छन् ।’ आएकाहरूको लागत राख्ने, व्यवस्थित बनाएर तालमा डुंगा सयरको व्यवस्था मिलाउने तयारी गरेको उनले बताए । मंसिर पहिलो साता यो ताल नजिकै न्वागी मेला लाग्दैछ । उक्त मेलाको आकर्षणकै रूपमा ताललाई लिइएको छ ।
गाउँपालिकाले तालमा डुंगा सयर गराउने योजना बनाएको उनले बताए । ताल झन्डै २५ मिटर गहिरो भएको अनुमान छ । तालको छेउमा रेस्टुरेन्ट सञ्चालन गर्न सकिने, डुंगा सयरबाट कमाइ बढाउन सकिने भन्दै स्थानीय लागेका छन् । डुंगा सय र गर्दा लाइफ ज्याकेट पनि लगाउने व्यवस्था सुरु भएको छ ।
‘पहिलो पटक भएकाले पौडिने र कुनै दुर्घटना भएमा तत्काल उद्दार टोली बनाउनुपर्ने भएको छ,’ कुमालले भने, ‘फागुनदेखि दिउसोको समयमा हावा चल्दा तालमा छाल उठ्ने गरेको छ ।’ छालले डुंगा पल्टिने खतरा भएकाले सुरक्षित अवतरणबारे तालिम चाहिएको उनले बताए ।

एक उत्तर छोड्न