दक्षिणी थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

0
56

याला । दक्षिणी थाइल्यान्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्यान्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण संघर्ष भइरहेको छ ।

थाइल्यान्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म ७ हजार बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयंसेवी परिचालन गरिएको छ । स्थानीय र अधिकारकर्मीले सैनिक कानुनका कारण स्थानीयवासीले कठिनाइ भोग्नुपरेको बताउँदै आएका छन् ।

गत मंगलबार विद्रोहीले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिँदै सो क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीव्र बनाएको बताए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताएको रक्षा मन्त्रालयका प्रवक्ता कोङचिप तान्त्राभानिचले उल्लेख गरे । मलेसियासँग सीमा जोडिएको सो क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वषअघि थाइल्यान्डले अधीनस्थ गरेको थियो ।

थाइल्यान्डका पृथकतावादी विद्रोहीहरू दक्षिणी थाइल्यान्डमा कुनै प्रकारको स्वायत्तता माग गरिरहेको समूह हो । दक्षिणी क्षेत्र सयौं वर्षअघि पटानी नामको राज्य थियो र त्यहाँका मले मुस्लिमहरूको बाहुल्य थियो । बीसौं शताब्दीको सुरुमा पटानी थाइल्यान्डमा मिसियो । ‘मले मुस्लिमहरू सांस्कृतिक, जातीय र धार्मिक रूपमा अन्य थाई नागरिकभन्दा फरक थिए,’ अस्ट्रेलिया निवासी स्वतन्त्र विश्लेषक रुन्गावी चालेर्मश्रीपिन्योरातले बताइन् । उनका अनुसार मले मुस्लिमले आफूमाथि फरक संस्कृति लादिएको विरोध गर्दा राज्य निर्दयी बनेको छ । लामो समयसम्म शान्त रहे पनि सन् २००४ देखि हिंसा बढेको हो । सन् २००४ मा बन्दुकधारीहरूले सैन्य अस्त्रभण्डारमा आक्रमण गरेर ४ सय वटा राइफल लुटेका थिए । त्यसपछिका आक्रमणमा तिनै हतियार प्रयोग भएको अनुमान गरिँदै आएको छ ।

एक उत्तर छोड्न